बर्दिबास । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको ६४औँ स्थापना दिवसका अवसरमा बर्दिबासमा रक्तसञ्चार केन्द्रलाई सहयोग गर्दै आएका नौवटा संस्था सम्मानित भएका छन्।
रक्तसञ्चार केन्द्रले आयोजना गरेको कार्यक्रममा रोटरी क्लब बर्दिबास, लायन्स क्लब अफ बर्दिबास समाज, बर्दिबास युथ क्लब, जनता मावि गौरीडाँडा, देउराली मावि बर्दिबास–१, बीपी यातायात प्रालि, बर्दिबास सुधार केन्द्र, ब्रह्माकुमारी समाज सेवा प्रभाग र बर्दिबास पुनर्स्थापना केन्द्रलाई सम्मान गरेको छ ।
रेडक्रस शाखा बर्दिबासमा संचालित रक्तसञ्चार केन्द्रले संस्थाहरूलाई चिनाएको र उक्त केन्द्रलाइ आवश्यक पर्दा जुनसुकै समय सहयोग गर्दै आएका संस्थाहरुलाइ सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी बर्दिबास शाखाका सभापति भुवन खड्काले जानकारी दिए।
“जतिबेला आवश्यक पर्छ, त्यतिबेला रक्तसञ्चार केन्द्रलाई सहयोग गर्ने संस्थाहरूको योगदान महत्वपूर्ण छ,” सभापति खड्काले भने, “रक्तसञ्चार केन्द्रले संस्थाहरूलाई चिनाएको हुँदा आवश्यक पर्दा संस्थाहरूले नै रक्तसंकलन गर्ने कार्य गर्दै आएका छन्।”
रेडक्रस स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्ने संस्थाहरूको योगदानको रेडक्रसले प्रशंसा गरेको थियो।


















