बर्दिबास, महोत्तरी
३ असार;
महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १७औँ नगरसभाको खुला अधिवेशनमा नगर प्रमुख हरिप्रसाद मण्डलले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए । प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।



मधेश प्रदेश सभामुख रामअशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा नगर प्रमुख मण्डलले मटिहानीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई विकासको मुख्य आधार बनाइने बताए। उनले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, व्यावसायिक खेतीको विस्तार तथा युवालाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
पर्यटन प्रवर्द्धनतर्फ मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने, नगरभित्र रहेका पोखरी, जलाशय, मठ, मन्दिर तथा मस्जिदहरूको संरक्षण, सौन्दर्यीकरण र प्रचारप्रसारलाई प्राथमिकता दिइने नीति लिइएको छ। साथै, पर्यटकीय सम्भावनाको प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण तथा सांस्कृतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।



शिक्षा क्षेत्रमा मैथिली भाषा संरक्षण तथा प्रवर्द्धनका लागि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमअन्तर्गत मैथिली विषय समावेश गरिने भएको छ। माध्यमिक तहमा विज्ञान प्रदर्शनी आयोजना, विद्यार्थीको सूचना प्रविधिमा पहुँच विस्तार गर्न ल्यापटप वितरण तथा कक्षा ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल उपलब्ध गराउने योजना पनि बजेटमा समेटिएको छ। साथै, दलित, विपन्न, अपांगता भएका, असहाय तथा शहीद परिवारका जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ।
स्वास्थ्य क्षेत्रतर्फ बर्थिङ सेन्टरबाट रेफर भएका बिरामीलाई जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिने तथा आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिको प्रवर्द्धन गरिने नीति अवलम्बन गरिएको छ।
यसका अतिरिक्त गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, कला, संस्कृति, खेलकुद, सिँचाइ, सहरी विकास, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत विकास र सुशासनका क्षेत्रमा विभिन्न कार्यक्रम तथा योजनाका लागि समेत बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।





















