Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धतासहित पीठाधीश हुमागाईंको पशुपति विकास कोषको सदस्य सचिवमा आवेदन

३० जेष्ठ २०८३, शनिबार १६:२४

काठमाडौँ ।
कलाकारिता र पत्रकारिता क्षेत्रबाट उदाएर नेपालको राष्ट्र, राष्ट्रियता, कला, धर्म-संस्कार र संस्कृतिको संरक्षण अभियानमा सक्रिय रहँदै आउनुभएका कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश श्री मुकुन्द शर्मा हुमागाईंले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदका लागि आफ्नो दरिलो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आव्हान गरेको रोष्टरमा उहाँले पशुपति क्षेत्रको आमूल सुधार र रूपान्तरणका लागि स्पष्ट प्रतिबद्धता र कार्ययोजनासहित आवेदन दिनुभएको हो ।
नेपाल सरकारको ढड्डामा उल्लेख भएर पनि ओझेलमा परेको काभ्रेको खोपासीस्थित श्री नरसिंह मठको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि आयोजित एक महिने अनुष्ठानमा बोल्दै पीठाधीश हुमागाईंले पशुपतिनाथ क्षेत्रमा ‘लिच्चड’ हरूलाई विकास कोष हाँक्ने जिम्मा नदिन सरकारलाई सुझाव र आग्रह गर्नुभएको छ । उहाँले साधक, शिवतत्व बुझेको र राष्ट्रलाई केही योगदान दिन सक्ने स्वच्छ छविको व्यक्तिलाई मात्र कोषको नेतृत्व सुम्पन आग्रह गर्दै, त्यस्तो व्यक्ति नभेटिए आफ्नो पूर्वकार्य हेरेर अवसर दिन सरकारलाई खुला चुनौती समेत दिनुभएको छ ।

पीठाधीश हुमागाईंले टेलिभिजन कार्यक्रमको माध्यमबाट देशैभरका भक्तजनहरूको सहभागिता जुटाएर विश्वकै अग्लो त्रिशूल निर्माण गरिसक्नुभएको छ भने पूर्वराजा, राष्ट्रपति देखि ७७ वटै जिल्लाका भक्तहरूको उपस्थितिमा भव्य राष्ट्रिय कोटिहोम समेत सम्पन्न गराई आफ्नो कुशल व्यवस्थापकीय क्षमता प्रमाणित गरिसक्नुभएको छ ।

सदस्य सचिव पदमा नियुक्त भएमा आफूले कोषबाट कुनै पनि किसिमको तलब, भत्ता, वा गाडी सुविधा (शिवस्व) नलिने घोषणा गर्दै उहाँले अघि सार्नुभएका मुख्य प्रतिबद्धताहरू यस प्रकार छन् :

१. पशुपतिनाथबाटै सदाचार र भ्रष्टाचारमुक्त अभियान :
विगतमा राजनीतिक तहबाट भएका सुनको जलहरी काण्ड जस्ता विभिन्न आर्थिक अनियमितताका कारण पशुपतिनाथको बद्नाम भएको उल्लेख गर्दै उहाँले कोषमा कडा आर्थिक अनुशासन र पूर्ण पारदर्शिता कायम गर्ने संकल्प गर्नुभएको छ । देशका उच्च पदस्थ व्यक्तित्वहरूलाई पशुपतिनाथमा सामूहिक शपथ ग्रहण गराउने र भेटीघाटीको रकम केवल परोपकार तथा धार्मिक-सामाजिक विकासमा मात्र खर्च गर्ने उहाँको योजना छ ।

२. पूजा व्यवस्थापन र शुद्धता :
पाशुपत क्षेत्रका सम्पूर्ण मन्दिर र पीठहरूमा परम्परागत नित्य तथा पर्व पूजालाई विधिपूर्वक सञ्चालन गरिनेछ । श्री पशुपतिनाथको अभिषेकका लागि वाग्मतीको उद्गमस्थल (वागद्वार/सुन्दरीजल) बाट सिधै पाइपलाइन वा ट्याङ्करमार्फत शुद्ध र पवित्र जल ल्याइनेछ भने पञ्चामृत (दूध, दही, घिउ, मह, सखर) को दैनिक गुणस्तर परीक्षण गरिनेछ । ओमकार परिवारका दर्शनार्थीहरूलाई बिनाकुनै रङ्गभेद पालैपालो दर्शन गर्ने र नित्य दर्शनार्थीहरूका लागि परिचयपत्रको व्यवस्था मिलाइनेछ ।

३. आर्थिक तथा नीतिगत सुधार र आत्मनिर्भरता :
आगामी ३ वर्षभित्र विकास कोषलाई सरकारी बजेटमा निर्भर रहनु नपर्ने गरी विकास बजेटमा पूर्ण रूपमा आत्मनिर्भर बनाइनेछ । कोषका धर्मशाला, पसल र जमिनहरूलाई सार्वजनिक सूचना जारी गरी बढाबढ बोलकबोल (टेण्डर) मार्फत मात्र भाडामा लगाइनेछ । अनधिकृत असुली र भक्तजन ठगिने क्रम पूर्ण रूपमा रोकिनेछ ।

४. भौतिक पुनर्निर्माण र सम्पदा संरक्षण :
भग्नावशेष अवस्थामा रहेका शिवालय र देवालयहरूलाई पुरातत्त्व विभाग र विश्व सम्पदा क्षेत्रको मापदण्ड अनुसार प्राचीन स्वरूपमै पुनर्निर्माण गरिनेछ । वर्षौंदेखि बन्द रहेको वनकाली धर्मशाला र अन्य प्रयोगविहीन सत्तलहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइनेछ । विगतमा शक्तिकेन्द्रको बलमा कब्जा गरिएका गुठी जग्गाहरूको खोजी गरी कोष मातहत ल्याइनेछ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले लिएको गौचरनको जग्गाको क्षतिपूर्तिबारे अध्ययन गरी संवादमार्फत समाधान निकालिनेछ ।

५. व्यवस्थित घाट तथा किरियापुत्री सेवा :
आर्यघाट, भष्मेश्वर र विद्युतीय घाटलाई सेवाग्राहीमैत्री बनाइनेछ । गरिब, असहाय र विपन्नहरूका लागि निःशुल्क शवदाह र काजकिरियाको व्यवस्था मिलाइनेछ । सनातन धर्म परित्याग गरेका (विधर्मी) हरूलाई श्लेष्मान्तक वन क्षेत्रमा भूसमाधि गर्न पूर्ण रोक लगाइनेछ।

६. अन्तर्राष्ट्रिय सम्बन्ध र धार्मिक पर्यटन :
विश्वभरका हिन्दू तथा गैरआवासीय नेपाली (NRN) हरूलाई जीवनमा कम्तीमा एक पटक पशुपतिनाथको दर्शन गर्न प्रेरित गर्ने गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरिनेछ । संसारभर पशुपतिनाथ समन्वय समिति गठन गरी ‘श्री पशुपतिनाथ सेवा सहयोग विश्व कोष’ खडा गरिनेछ । साथै, देश बाहिर रहेका भक्तजनहरूका लागि अनलाइन पूजा, डिजिटल भेटी र कुरियरमार्फत रुद्राक्ष-प्रसाद पठाउने प्रविधिको विकास गरिनेछ ।

७. बृहत् शैक्षिक, सामाजिक तथा जीव कल्याणकारी योजना :
कोषकै व्यवस्थापनमा ‘श्री पशुपति सनातन हिन्दू विश्वविद्यालय’ र गरिब नागरिकको उपचारका लागि ‘श्री पशुपतिनाथ आयुर्वेद चिकित्सालय’ स्थापना गरिनेछ । हाल सञ्चालित वनकाली वेद विद्याश्रमको क्षमता विस्तार गरी १,००० जना बटुकहरूका लागि निःशुल्क आवासीय शिक्षाको व्यवस्था मिलाइनेछ । पाशुपत क्षेत्रका बाँदर, मृग, नन्दी तथा गाईवस्तुको उपचारका लागि पशु चिकित्सकसहितको क्लिनिक र रैथाने गाईहरूको संरक्षणका लागि विशेष गौशाला सञ्चालन गरिनेछ ।

हाम्रो लक्ष्य र नारा :
पीठाधीश हुमागाईंले “भ्रष्टाचारमुक्त, आध्यात्मिक, समृद्ध, व्यवस्थित र विश्व हिन्दू समाजको गौरवपूर्ण केन्द्रका रूपमा श्री पशुपतिनाथ तथा पाशुपत क्षेत्रको विकास” गर्ने मुख्य लक्ष्य राख्नुभएको छ । उहाँले “सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण – समृद्ध पशुपति, गौरवशाली नेपाल” भन्ने नाराका साथ पशुपति क्षेत्रको गरिमालाई विश्वस्तरमा पुर्‍याउने दृढता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

ताजा अपडेट
  • सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धतासहित पीठाधीश हुमागाईंको पशुपति विकास कोषको सदस्य सचिवमा आवेदन

  • ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

  • स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

  • राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

© 2026: Touch Khabar All Rights Reserved