मिथलेश सिंह : बर्दिवास, महोत्तरी ।
ॐकार टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय अन्तर्वार्ता कार्यक्रम ‘पञ्चामृत’ ले समाज, राजनीति, साहित्य, कला र विकासका विषयमा सरोकारवाला व्यक्तिहरूको धारणा सार्वजनिक गर्दै आएको छ । कार्यक्रम सञ्चालक जीवनराज दाहालद्वारा सञ्चालित यस कार्यक्रममा हालै महोत्तरी क्षेत्र नम्बर–१ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार होमप्रसाद पोखरेल ‘कमल’ सहभागी हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै उम्मेदवार पोखरेलले देशको वर्तमान राजनीतिक अस्थिरता अन्त्य र राष्ट्रियताको संरक्षणका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेको व्यवस्थाले मुलुकलाई दिशाहीन बनाएकाले वैकल्पिक राजनीतिक मार्ग आवश्यक भएको हो ।
बर्दिवास–१ मा जन्मिनुभएका तथा हाल स्नातकोत्तर तहमा अध्ययनरत पोखरेलले आफूलाई साधारण किसानको छोरोका रूपमा परिचय दिनुभयो । २०७८ सालमा राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष निर्वाचित भएपछि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका उहाँले विशेष परिस्थितिमा उम्मेदवारी दिनुपरेको खुलासा गर्नुभयो । जिल्ला अध्यक्षको उम्मेदवारी रद्द भएपछि अन्तिम समयमा पार्टीको प्रतिष्ठा जोगाउन ‘निडर सिपाही’ का रूपमा चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ ।
उम्मेदवार पोखरेलले कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलहरू दिशाहीन बनेको आरोप लगाउँदै मौलिक धर्म, संस्कृति र संस्कारको संरक्षण गर्ने पार्टी राप्रपा मात्रै भएको दाबी गर्नुभयो । नेपालको सार्वभौमसत्ता र पहिचान जोगाउन वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र अभिभावकीय संस्थाका रूपमा राजसंस्था आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
महोत्तरी–१ का जनताको मुख्य पेशा कृषि भएकाले कृषिको आधुनिकीकरण, मल, बीउ तथा सिँचाइको सहज व्यवस्था आफ्नो प्राथमिकतामा रहने पोखरेलले बताउनुभयो । पार्टीको चुनाव चिन्ह ‘हलो’ लाई उहाँले राष्ट्रिय गौरव र पहिचानको प्रतीकका रूपमा व्याख्या गर्नुभयो ।
८० लाखभन्दा बढी युवाहरू विदेशिनु राजनीतिक अदूरदर्शिताको परिणाम भएको उल्लेख गर्दै उहाँले जल, जमिन र जङ्गलको सही परिचालनमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गर्नुभयो । उद्योगधन्दाको पुनरुत्थान गरी युवालाई आत्मनिर्भर बनाउने र विदेशिएका युवालाई क्रमशः स्वदेश फर्काउने आफ्नो दृढ संकल्प रहेको उहाँको भनाइ छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा निर्धक्क भएर ‘हलो’ चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्दै पोखरेलले आफू विजयी भए महोत्तरी–१ लाई समृद्ध सहरका रूपमा विकास गर्ने दाबी गर्नुभयो । “म यही क्षेत्रकै छोरो भएकाले यहाँका ३० वटै वडाका नागरिकको सुख–दुःखमा साथ दिनेछु,” उहाँले ‘पञ्चामृत’ कार्यक्रममा भन्नुभयो ।


















