२२ वैशाख, बर्दिवास (जीवनराज दाहाल) –
नेपालको राजधानी काठमाडौँलाई पूर्वसँग जोड्ने बीपी राजमार्गजत्तिकै रणनीतिक महत्व बोकेको छ, महेन्द्र राजमार्गको मुख्य नाका बर्दिवास शहर । पछिल्ला वर्षहरूमा तीव्र शहरीकरण, व्यापारिक चहलपहल र पूर्वाधारको विकासका कारण यो शहर सम्भावनाको केन्द्रविन्दुमा उभिएको छ ।
बर्दिवासको यो परिवर्तनशील यात्रामा अग्रणी भूमिका निर्वाह गरिरहेको छ – बर्दिवास उद्योग वाणिज्य संघ । व्यवसायीको हकहितको संरक्षण, व्यवसाय प्रवर्द्धन र संस्थागत सुदृढीकरणका दिशामा संघले पछिल्ला दिनहरूमा उल्लेखनीय कार्य गर्दै आएको छ । संघका पदाधिकारीहरूका अनुसार, हाल संघले आफ्नै भवन निर्माणलाई प्राथमिक एजेन्डामा राखेर योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ ।

संघका अध्यक्षको भनाइमा, छोटो अवधिमै विविध उपलब्धिहरू हासिल गर्न सफल संघले बाँकी कार्यकालमा थप दिगो र दीर्घकालीन सुधार गर्ने लक्ष्य लिएको छ । भवन निर्माणसँगै, व्यवसायीहरूका लागि पारिवारिक सुविधा प्रवर्द्धन, स्वच्छ पानीको ट्याङ्की जडानजस्ता योजनाहरू पनि संघको प्राथमिकतामा परेका छन् ।
यतिमात्र होइन, संघले बर्दिवास आगमन गर्ने विशिष्ट व्यक्तित्वहरूको स्वागत-सत्कारमार्फत सहरको गरिमा अभिवृद्धि गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको छ । हालै मात्र, ॐकार टेलिभिजनका संस्थापक एवं लड्केश्वर धामका पीठाधीश्वर श्री मुकुन्द शर्मा हुमागाईको संघको भवन अवलोकन भ्रमणका अवसरमा, संघले विशेष सम्मानसहित उनको स्वागत गरेको थियो । संघले हुमागाईको आगमनलाई ‘सौभाग्यपूर्ण’ भनी व्याख्या गर्दै हार्दिक कृतज्ञता प्रकट गरेको थियो ।

संघको भवन निर्माण कार्य पूर्णता तर्फ उन्मुख हुँदै गर्दा, बर्दिवासको समग्र आर्थिक, सामाजिक र भौतिक विकासमा नयाँ ऊर्जा थपिने आशा गरिएको छ । व्यवस्थित नेतृत्व र दीर्घदृष्टिको समन्वयमा संघले बर्दिवासलाई आधुनिक व्यापारिक नगरीका रूपमा स्थापित गर्न सक्ने स्पष्ट संकेत देखिएको छ ।

यस समृद्धिको यात्रामा बर्दिवास उद्योग वाणिज्य संघको यो कदम प्रेरणादायी सावित भइरहेको छ ।


















