बर्दिबास, महोत्तरी। पोलियो रोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले महोत्तरीको बर्दिबासमा रोटरी क्लबको आयोजनामा र्याली निकालिएको छ। विश्व पोलियो दिवसको सन्दर्भमा आयोजित र्यालीमा विद्यार्थी, रोटरीयन, रोट्र्याक्ट सदस्य तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवस यस वर्ष मौसम प्रतिकूलताका कारण केही ढिलो गरी मनाइएको रोटरी क्लब अफ बर्दिबासकी अध्यक्ष सुमित्रा भट्टराईले जानकारी दिइन्।
गौतम होटलनजिकबाट सुरु भएको र्याली सिन्धुली रोडस्थित पिपल चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमार्फत पोलियो उन्मूलन अभियानलाई निरन्तरता दिन, बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन र जनचेतना अभिवृद्धि गर्न सन्देश प्रवाह गरिएको थियो।
नेपालमा सन् २०१० यता पोलियोको नयाँ संक्रमण नदेखिएको उल्लेख गर्दै अभियानमा संलग्न रोटरीयनहरूले पोलियोमुक्त अवस्थालाई कायम राख्न नियमित खोप र जनचेतनाको महत्वमा जोड दिएका थिए।
कोणसभामा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले नगरपालिकाले घरघरमै पुगेर पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको बताए। बालबालिकालाई रोगबाट सुरक्षित राख्न खोप अभियानलाई प्रभावकारी बनाउनुका साथै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा अन्तरसंघ–संस्था समन्वय सञ्जालका अध्यक्ष रामकुमार कार्की, हेल्प फाउन्डेसनका अध्यक्ष तथा अधिवक्ता टीकाकाध्वज खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्की र रोटरी क्लब अफ बर्दिबासकी अध्यक्ष सुमित्रा भट्टराईलगायतले पोलियो उन्मूलन अभियानको महत्वबारे धारणा राखेका थिए।
विश्वव्यापी रूपमा पोलियो उन्मूलनका लागि भएका प्रयासले उल्लेखनीय उपलब्धि हासिल गरे पनि यसको जोखिम पूर्ण रूपमा अन्त्य नभइसकेकाले खोप अभियान, जनचेतना र सामुदायिक सहकार्यलाई निरन्तरता दिनुपर्नेमा कार्यक्रमले जोड दिएको छ।



















