श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले सरकारका विभिन्न मन्त्रालयको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न गरे। प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको उनको टिप्पणी थियो।
‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,’ सांसद साम्पाङले भने, ‘सरकार संसदप्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन।’
उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रण जस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरे। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा बस्तीवासीलाई न्याय दिन माग गरे।
त्यस्तै, धरानस्थित बराह वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए।
विकास निर्माणका सन्दर्भमा बोल्दै सांसद राईले सुनसरी–१ लगायत देशभरका योजनाको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन माग गरे।


















