बर्दिबास, महोत्तरी : ३१ बैशाख ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बर्दिवासको आयोजनामा दुई दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । संस्थाले आफ्ना ग्राहक सदस्यहरूको सीप, क्षमता र आर्थिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले यही २०८३ वैशाख ३० र ३१ गते उक्त तालिम सञ्चालन गरेको हो । परम्परागत कृषि प्रणालीलाई विस्थापित गरी आधुनिक तरिकाले उत्पादन बढाउन टेवा पुर्याउने लक्ष्यका साथ आयोजित यस कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक श्री झविलाल लामिछानेले गर्नुभएको थियो ।
तालिममा प्राकृतिक स्रोत व्यवस्थापन कलेजका उप-प्राध्यापक श्री उमेश तिमिल्सिनाले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो । दुई दिनसम्म चलेको उक्त कार्यक्रमको पहिलो दिन टमाटर खेती र दोस्रो दिन पर्बल खेती सम्बन्धी विशेष प्रशिक्षण दिइएको थियो । प्रशिक्षक तिमिल्सिनाले बिउ विजन छान्ने र बेर्ना सार्ने सही तरिका, गोडमेल, सिँचाइ व्यवस्थापन, मलको उचित प्रयोग र आधुनिक प्रविधिको प्रयोगबारे जानकारी गराउनुभएको थियो । साथै, खेतीमा लाग्ने रोग तथा हानिकारक किराहरूको रोकथामका लागि सुरुमा अर्गानिक औषधिको प्रयोग गर्ने र त्यसबाट नियन्त्रण नभएमा मात्र अन्त्यमा रासायनिक औषधिको प्रयोग गर्ने विषयमा उहाँले कृषकहरूलाई सचेत गराउनुभयो । उहाँले मौसमी तथा बेमौसमी समयमा गर्न सकिने विभिन्न खेतीका तरिकाहरूबारे पनि स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा बर्दिवास नगरपालिका वडा नं. ५ का वडाध्यक्ष श्री काहरमान स्याङ्तान प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले तालिममा सिकेका विषयवस्तुहरूलाई व्यवहारमा उतार्दै तरकारी खेतीबाट बढीभन्दा बढी प्रतिफल लिन र समुदायका अन्य व्यक्तिहरूलाई पनि यसबारे सिकाउन सहभागीहरूलाई सुझाव दिनुभयो । त्यस्तै, विशेष अतिथिको रूपमा वडा नं. ५ की सदस्य श्री गीता कुमारी र स्वावलम्बन लघुवित्तका इलाका कार्यालय बर्दिवासका प्रमुख श्री सुरेन्द्र कार्कीको उपस्थिति रहेको थियो । प्रमुख कार्कीले तालिमको सिकाइलाई खेतीमा प्रयोग गरेर आर्थिक रूपमा सबल बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो । ३५ जना ग्राहक सदस्यहरूको सहभागिता रहेको उक्त तालिममा शाखाका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।



















