बर्दिवास, महोत्तरी : पौष ४ ।
पद्म शमशेर खड्का स्मृति प्रतिष्ठान, बर्दिवासद्वारा आयोजित छात्रवृत्ति परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूको वास्तविक आर्थिक अवस्था नजिकबाट बुझ्ने उद्देश्यले घरदैलोमै पुगेर स्थलगत अनुगमन कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

बर्दिवास नगरअन्तर्गत कृष्णपुर, बुद्धचोक, बजारटोल, हात्तिलेट, थापाटोल, सनिगाछी, जोगीटोललगायत विभिन्न बस्तीहरूमा प्रतिष्ठानका प्रतिनिधिहरूले विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष भेटघाट गर्दै पारिवारिक अवस्था, आम्दानीको स्रोत र शैक्षिक आवश्यकताबारे जानकारी संकलन गरिरहेका छन् ।

प्रतिष्ठानका अनुसार स्थलगत अनुगमनपछि प्राप्त विवरणका आधारमा योग्य तथा वास्तविक रूपमा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यस पहलले शिक्षामा पहुँच बढाउन र आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



















