
जीवनराज दाहाल, बर्दिवास, भाद्र १४ –
‘सबैका लागि हामी’ संस्थाले शनिबार बर्दिवासस्थित होटेल पावन मिथिलामा तेस्रो वार्षिक साधारणसभा तथा ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपेश सापकोटाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने महासचिव विशाल दर्नालले संस्थाको स्थापना (२०७९) यता भएका गतिविधि र २०८१/८२ सालको वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै, सदस्य रोमन निरौलाले संस्था स्थानीय सरकारसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त साझेदारीको अपेक्षा व्यक्त गरे ।
सोही अवसरमा संस्थाको तीन वर्षे यात्रालाई प्रतिबिम्बित गर्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो । यस वर्षको ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमलाई प्रदान गरिएको हो । यसअघि पहिलो संस्करणमा समाजसेवी कृष्ण प्रसाद देवकोटा सम्मानित भएका थिए ।
सम्मान ग्रहण गर्दै गौतमले आफ्नो नेतृत्वकालीन गतिविधिको कदर गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै पर्यटन व्यवसायलाई अझ मजबुत बनाउन निरन्तर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रहरी नायब निरीक्षक सरोज अधिकारीले लागूऔषध नियन्त्रण सम्बन्धी अनुभव सुनाउँदै शुभकामना व्यक्त गरे भने रोट्याक्ट अध्यक्ष सरोज गजमेर, युवा नेता विनोद ढुङ्गेललगायतले पनि बधाई मन्तव्य राखेका थिए ।
प्रमुख अतिथिका रूपमा उपस्थित बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संस्थाले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै नगरपालिकाबाट निरन्तर सहयोग रहने आश्वासन दिए ।
कार्यक्रमको समापन संस्थाका अध्यक्ष रवि निरौलाले गरेका थिए । उनले समाज हितका कार्यक्रमलाई अझ प्रभावकारी र सबल बनाउन संस्था निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमलाई अनु खनालले सञ्चालन गरेकी थिइन् ।