बर्दिवास, महोत्तरी – १० बैशाख।
लेनिनको १५६औं जन्मजयन्तीको अवसरमा “लेनिनवादको आलोकमा नेपाली समाजवादी क्रान्ति” विषयक अन्तरक्रियात्मक गोष्ठी बर्दिवासमा सम्पन्न भएको छ । लेनिन शतवार्षिकी समारोह समिति, मधेस प्रदेशका संयोजक शशिकला दहालको अध्यक्षतामा गोष्ठी सञ्चालन गरिएको हो ।
समितिका सदस्य गोपाल वरालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वतन्त्र वामपन्थी नेता रोशन जनकपुरीले १४ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा समाजवादी क्रान्तिको मार्गचित्रबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा कार्यपत्रमाथि विभिन्न दलका नेताहरूले टिप्पणी गरेका थिए । नेकपा (विप्लव)का पवन सि, वैज्ञानिक समाजवादी पार्टीका मदन प्रभात, नेकपा (एमाले)का शंकर महतो, नेकपा (माओवादी केन्द्र)का राजु खड्का र नेकपा (समाजवादी)का लक्ष्मण पौडेल प्रमुख टिप्पणीकारका रूपमा प्रस्तुत थिए ।
वक्ताहरूले समाजवादी क्रान्तिको सन्दर्भमा लेनिनको विचार र योगदानको चर्चा गर्दै वर्तमान अवस्थामा सबै वामपन्थी शक्तिहरू एकजुट हुन आवश्यक रहेकोमा जोड दिएका थिए । पवन सिले उत्पादन र श्रमसँगको सम्बन्ध स्थापित गर्नुपर्ने बताए भने मदन प्रभातले माक्र्स, लेनिन र माओका विचारलाई नयाँ ढंगले लागू गर्नुपर्ने आवश्यकता औंल्याए । एमाले नेता महतोले एकता र उत्पादनमुखी कार्यमा जोड दिए ।
माओवादी केन्द्रका नेता राजु खड्काले लेनिनको क्रान्तिप्रतिको भूमिका र मार्क्सवादी ज्ञानप्रतिको योगदानको प्रशंसा गर्दै समाजवादप्रति विभिन्न दृष्टिकोण रहे पनि त्यसलाई एकताको सूत्रमा बाध्नुपर्ने धारणा राखे । समाजवादी पार्टीका लक्ष्मण पौडेलले वामपन्थी दलहरू टुक्रिएको अवस्थामा समाजवादी क्रान्तिको धारणा कमजोर बन्ने उल्लेख गरे ।
कार्यक्रममा कार्यपत्र र टिप्पणीमाथि प्रतिक्रिया व्यक्त गर्नेहरूमा भौतिकवादी नेता वैद्यनाथ श्रमजीवी, जीवन शशांकर र नारद काफ्ले रहेका थिए ।
कार्यक्रममा पाँच वामपन्थी राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । समापनमा बोल्दै सभाध्यक्ष शशिकला दहालले कार्यक्रम सफल बनाउन समिति एक वर्षदेखि सक्रिय रहेको र अझै केही कार्य बाँकी रहेको जानकारी दिइन् । साथै, उनले वामपन्थी शक्तिहरूको एकताको आवश्यकता औंल्याउँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
गोष्ठी बर्दिवासस्थित विनायक ब्याङ्क्वेटको सभाहलमा सम्पन्न भएको हो ।


















